पृष्ठभुमी

प्राकृतिक छटाले भरिपूर्ण भूमी नेपालको प्रदेश नं १ अन्तर्गत भोजपूर जिल्लाको भोजपूर नगरपालीका वडा नं ७ मा अवस्थित यस जिल्ला अस्पताल भोजपूरको स्थापनाका सम्बन्धमा एकिन तिथि मिति प्राप्त नभए पनि जानकारहरुका अनुसार अस्पतालको स्थापना वि.सं. २०१६/०१७ तिर भई संचालनमा आएको मानिन्छ । प्रदेश सरकार सामाजीक विकास मन्त्रालय, प्रदेश नं १ माताहत रही आफ्नो कार्य जिम्मेवारी पूरा गरिरहेको यस जिल्ला अस्पताल १५ शैय्याको स्वीकृत अस्पताल हो । विभिन्न उतार चढावका बावजुत पनि जनताको सेवामा निरन्तर समर्पित यस अस्पतालले सम्पूर्ण भोजपूर जिल्लाका वासिन्दाहरुको मन जित्न अहोरात्र कार्य गरिरहेको छ । यस कार्यालयको स्वीकृत दरबन्दी संख्या ३२ रहेको छ ।

यस अस्पताललाई यहाँसम्म ल्याइपूर्याउन स्थापनाकाल देखिनै अस्पताल संचालन तथा व्यवस्थापन समिति, कार्यालय प्रमूखहरु र अहोरात्र खटिने कर्मचारीहरुको ठूलो योगदान रही आएको छ । यो अस्पताल प्रदेश माताहत आएपछि पहिलो पटक यस जिल्ला अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्षको रुपमा लक्ष्मण खड्का रहनु भएको छ । त्यसै गरि यो अस्पताल प्रदेश माताहत आएपछि पहिलो पटक यस जिल्ला अस्पतालको कार्यालय प्रमुखको रुपमा डा. शिवजी रिजालले कुशलतापूर्वक नेतृत्व प्रदान गर्नुभएको थियो भने हाल यस अस्पतालको प्रमुखको रुपमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. पवित्रा श्रेष्ठले कुशलतापूर्व नेतृत्व प्रदान गरिरहनु भएको छ ।

यस अस्पतालले नेपालको संविधान, प्रचलीत ऐन, कानुन, नियम, नितिका अधिनमा रही सरकारका स्वास्थ्य सम्बन्धी लक्ष्य र उदेश्यहरु पूरा गर्न उपलब्ध स्रोत, साधन र जनशक्तिले भ्याएसम्म आफ्ना प्रयत्नहरुलाई अगाडी बढाईरहेको छ ।

यस जिल्ला अस्पतालले हाल प्रदान गर्दै आईरहेको सेवाहरुलाई अझ बढी सुदृढ, प्रभावकारी, सर्वसुलभ बनाई भोजपूर बासी लगायत सम्पूर्ण नेपाली जनताको सेवामा समर्पित बनाईराख्न देशकै एउटा नमुना जिल्ला अस्पताल बनाउने कार्यमा सहयोग एवं सदभावका लागि सबै सरोकारवाला समक्ष अस्पताल विनम्र अनुरोध गर्दछ ।